विशेष खबर

नेकपामा भाडभैलो, पार्टी, सत्ता र सदनमा ओलीकै हैकमबाद

काठमाडौं । पार्टी एकिकरण भएको एक महिनामै नेकपा कम्युनिष्ट पार्टीमा (असन्तुष्टिका स्वरहरु चर्किन थालेका छन् । विशेषगरी तत्कालीन एमाले अध्यक्ष तथा बर्तमान एकिकृत पार्टीका अध्यक्ष र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पार्टी, सत्ता र सदन सञ्चालनमा मनोमानी गरेको भन्दै असन्तुष्टि सुरु भएको हो । तत्कालिन एमाले र माओवादी केन्द्रबीच ३ जेठमा पार्टी एकिकरण भएको थियो । केहि नेताहरुले उनको खुलेरै आलोचना गर्न सुरु गरेका छन् । 


ओलीलाई पहिलो गाँसमा ढुंगा त्यहाँ लाग्यो सचिवालयमा झलनाथ खनाललाई भन्दा अगाडि माधवकुमार नेपाललाई राखे । तत्कालिन एमालेमा नेपालको भन्दा खनालको बरियता माथी थियो । त्यसपछि एकिकृत पार्टीको पहिलो स्थायी समिति बंैठकमा पाका नेता अमिक शेरचन उपस्थित भएनन् र अमृत कुमार बोहोराले उपस्थित भएर पनि उपस्थिति जनाएनन् ।

नेता शेरचनले आफुलाई आमन्त्रीत स्थायी समिति सदस्य बनाएर अपमान गरिएको भन्दै उपस्थित भएनन् । अर्का नेता बोहोराले पनि आफुमा लागेको आमन्त्रीत स्थायी समिति सदस्यको विल्ला नहटेसम्म उपस्थितिमा हस्ताक्षर नगर्ने बताए । दुबै नेताको आफुहरु भन्दा जुनियर नेतालाई स्थायी समिति सदस्य बनाउने तर, आफुहरुलाई आमन्त्रीतमा राख्ने भन्ने दुःखेसो छ । 


मंगलबार चीन भ्रमणमा जाने बेला कार्यबाहकको जिम्मेवारी दिदा पनि सबै स्थानमा पूर्व एमालेलाई मात्र जिम्मेवारी दिएपछि नेताहरु थप असन्तुष्ट बनेको बताइन्छ । ओलीले चीन भ्रमणमा जानेबेला तीन स्थानमा कार्यबाहकको जिम्मेवारी दिएका थिए । ओलीले सचिवालय सदस्य माधवकुमार नेपाललाई विस्तारै काखी च्याप्न सुरु गरेको भन्दै तत्कालिन एमालेका अर्का पूर्व अध्यक्ष झलनाथ खनाल पनि रुष्ट भएका छन् ।

अहिले नेकपामा दुई अध्यक्ष छन् । एउटा अध्यक्ष बाहिर गए अर्कोले जिम्मेवारी सम्हाल्ने गरी दुई अध्यक्षको व्यवस्था गरिएपनि संयोग कस्तो प¥यो भने ओली चीन जाँदा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि सिंगापुर पुगेका छन् ।

केही समय अघिदेखि नै नेपाललाई ओलीले च्यापेको बजार हल्लालाई सत्यतामा परिणत गर्दै ओलीले नेपाललाई कार्यबाहक पार्टी अध्यक्षको जिम्मेवारी दिएका छन् ।

ओलीलाई बिदाइ गर्न विमानस्थलमा पुगेका नेपाललाई ओलीले अकस्मात कार्यबाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन् । नेकपाका नेताहरु भन्छन् ‘यस्ता प्रयोजनका लागि नेपाल(ओली कहिल्यै यसरी भेट हुन्थेनन् । मंगलबार भने ओलीलाई बिदाइ गर्न नेपाल विमानस्थल पुगे । त्यसक्रममा ओलीले नेपाललाई एउटा सरप्र्राइज दिए ।

नेपालका लागि त्यो अप्रत्यासित त थिएन किनकी नेकपाको दुई अध्यक्ष पछिको बरियतामा उनी थिए । तर, उनका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी भने नौलो हो । नेपालले कार्यवाहक मात्र पाएनन्, ओलीसँग उनको राजनीतिक यात्रा शुरु गरेको सन्देश समेत दिन भ्याए । यसले पूर्व माओवादी केन्द्रका नेताहरु मात्र होइन, पूर्व एमालेहरु पनि अचम्मित भएका छन् ।  २०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजीनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उनी १४ वर्ष एमालेको नेतृत्व गरेपछि वरिष्ठ नेताको हैसियतमा थिए ।


ओलीले अन्य दुई आफुले सम्हाली रहेको पदमा पनि कार्यबाहक दिएका छन् । ती कार्यबाहकमा पनि पूर्व एमाले नेता नै परेका छन् । संसदीय दलको कार्यवाहक  दलको नेतामा सुवास नेम्वाङलाई जिम्मेवारी सूम्पिएका छन् । रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । 


यसले ओलीले जिम्मेवारी दिदा एमाले नेताहरुलाई माया गर्ने र माओवादी नेताहरुलाई पछि पार्ने गरेका छन् । यसलाई माओवादी नेताहरुले त्यति सहज रुपमा लिएका छैनन् । राजनीतिक नियुक्ति र कर्मचारीलाई सरुवा बढुवा गर्दापनि पूर्व एमाले नै हावी भइरहेका छन् । पूर्व एमालेमा पनि आफ्नो गुटकाले बढि जिम्मेवारी पाइरहेका छन् । यसपछि नेकपाका नेता कार्यकर्तामा हल्ला चल्न सुरु भएको छ ‘यो नेकपा पार्टी हो कि केपी शर्मा ओली प्रा.ली. हो’ । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने