खेलकुद

सम्मानीत हुँदै करातेका पूर्वच्याम्पियन राजपाल

ललितपुर, ११ बैशाख । करातेका पूर्वच्याम्पियन राजपाल कर्माचार्य सम्मानीत हुने भएका छन् । खेल क्षेत्रका हस्ती राजपाललाई नेपाल कराते महाँसंघ, ललितपुरले सम्मान गर्न लागेको जानकारी राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवं करातेका पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले जानकारी दिए । ललितपुरको चापागाउँमा पिता गोपाल कर्माचार्य र आमा सानु कर्माचार्यको कोखबाट ४९ वर्ष अघि जन्मिएका राजपाल कर्माचार्य कराते क्षेत्रमा परिचित नाम हो ।

सानै उमेरदेखि करातेप्रति चासो राखेर कराते खेललाई नै आफ्नो जीवनको लक्ष्य बनाएका राजपाल मार्सल आर्टका सम्राट ब्रुसुली, ज्याकीच्याङको प्रतिभा देखेर मार्शलआर्ट खेल रोजेका कर्माचार्यले उक्त खेललाई नेपालमा पञ्चायत शाशकहरुले प्रतिबन्ध लगाए पनि राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव तथा सितोरियो करातेका संस्थापक युवराज लामाबाट लुकीलुकी प्रशिक्षण लिने मौका पाएका थिए । त्यसपछि २०३९ सालमा विधिबत रुपमा राष्ट्रिय खेलकुद परिषदमा सितोरियो कराते खेललाई मान्यता दिएपछि कर्माचार्यले सितोरियो कराते खेलमा प्रतिभा देखाउन सफल भए ।

कर्माचार्य सितोरियो करातेमा चम्किलो ताराजस्तै चम्कीरहे । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौं स्वर्ण पदक हासिल गरेर खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिए । कर्माचार्यले २०४२ सालमा पोखरामा भएको खुल्ला मार्शलआर्ट प्रतियोगितामा ५५ केजी तौल समूहमा स्वर्णपदक ल्याउन सफल भएका थिए।


त्यस्तै, २०४४ सालमा दशरथ रंगशालाको कभर्ड हलमा आयोजित सितोरियो कराते प्रतियोगितामा पहिलो स्वर्ण पदक जित्न सफल भएका थिए । २०४५ सालमा पाँचौं अधिराज्यव्यापी सितोरियो कराते खेलमा पनि स्वर्णपदक हासिल गर्न सफल भएका थिए राजपाल ।
२०४६ सालमा धरानमा भएको छैटौं अधिराज्यव्यापी कराते प्रतियोगितामा कर्मचार्यले स्वर्ण पदक ल्याउनुका साथै उत्कृष्ठ खेलाडीसमेत घोषणा भए ।
१९८९ मा भारतको दिल्लीमा भएको दोस्रो दक्षिण एशियाली कराते प्रतियोगितामा पनि स्वर्णपदक ल्याउनुका साथै उत्कृष्ट खेल प्रदर्शन गरेका कारण उत्कृष्ट खेलाडी समेत घोषित हुन सफल भएका थिए । त्यसलगत्तै सिंगापुरमा भएको एसियन सितोरियो कराते प्रतियोगितामा जापानीमूलका खेलाडी वल्र्ड च्याम्पियनसँग उत्कृष्ट खेल प्रदर्शन गरेपनि सेमिफाइनलमा भने पराजित हुनु परेको थियो ।


राजपाल कर्माचार्यले सन् १९९० मा बंगलादेशमा भएको तेस्रो दक्षिण एसियाली कराते प्रतियोगितामा स्वर्ण पदक हासिल गरेका थिए ।
सन् १९९१ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय आमन्त्रित कराते प्रतियोगितामा कर्माचार्यले रजत पदक ल्याउर राष्ट्रको नाम उचो पार्न महत्वपूर्ण योगदान दिएका थिए । 
कर्माचार्यले आफूमात्र नभई आफ्नो जन्मस्थान चापागाउँमा समेत कराते खेलको विकास र विस्तारकालागि उल्लेखनीय काम गरेका थिए । कर्मचार्यले प्रशिक्षण दिएर दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उत्पादन गर्न सफल भइसकेका छन् । अन्तर्राष्ट्रिय खेलाडी, राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष, करातेका अन्तर्राष्ट्रिय रेफ्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका मीनकृष्ण महर्जन, आठौं साफ गेमका स्वर्णपदक विजेता तथा करातेका नेशनल प्रशिक्षक गंगाराम महर्जन राजपालले नै उत्पादन गरेका उत्कृष्ट खेलाडीहरु हुन् ।


कर्माचार्यलाई नेपाल कराते महासंघले १९९२ मा कराते खेलको विकास र विस्तारका लागि वैदेशिक प्रशिक्षणमा पठाएको थियो । नेपालमा कराते खेलको विकासका लागि जापानमै रहेर पनि कर्माचार्यले पटक पटक नेपाल आई नेपाली खेलाडीलाई कुशल प्रशिक्षण दिँदै आएका छन्। कर्माचार्यले नेपालका कराते खेलाडी मात्र नभई अन्य खेलका खेलाडीलाई पनि जापानमा समन्वयकारी भूमिका निर्वाह गर्दै आएका छन् ।
दक्षिण कोरियाको इन्चोङमा भएको एसियन गेमको लागि नेपालका कराते खेलाडीलाई पहिलो पटक कर्माचार्यकै पहलमा दुई महिना जापानमा बन्द प्रशिक्षणका लागि अवसर दिलाइएको थियो ।


कर्मचार्यले जापानमा सन् २०२० मा हुन लागेको ओलम्पिक गेममा कराते खेल पनि समावेश गराउन विशेष भूमिका निर्वाह गरेका थिए । ‘कर्माचार्य भन्छन्, ‘ओलम्पिक गेममा करातेले पदक ल्याउने आशा देखेकोले नेपालको नेशनल टीमलाई जापानमै वैदेशिक प्रशिक्षणका लागि पहल गरेको हुँ । यो प्रशिक्षणपछि नेपालकै इतिहासमा पहिलो पदक प्राप्त हुने मेरो विश्वास छ । मेरो विशेष भूमिका पनि त्यसतर्फ नै केन्द्रित हुनेछ । ’विगत पच्चिस वर्षदेखि जापानमै बस्दै आए पनि कर्माचार्य नेपाल र कराते खेलप्रतिको मायाका कारण नियमित रुपमा नेपाल आउने गरेको बताउछन् ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने